
रौतहट: पर्यटकीय स्थल नुनथरमा पिकनिक मनाउन आएका एकजनाको डुबेर मृत्यु भएको छ। डुबेर बेपत्ता भएका एकजनाको शव फेला परेको हो।
शुक्रबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–५ बाट आफ्नो परिवारका सदस्यहरूसँग पिकनिक मनाउन नुनथर आएका २० वर्षीय पारस यादव नदीमा डुबेर बेपत्ता भएका थिए।
शस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले उनको शव बागमती सिँचाइ आयोजनाको ब्यारेजमा अड्केको अवस्थामा फेला परेको जानकारी दिए।
दाहालका अनुसार बुबाआमासहित पिकनिक खान आएका यादवसहित अन्य दुईजना पौडी खेल्न साँझ साढे पाँच बजेतिर बागमती नदीमा छिरेका थिए। तीनजनामध्ये महाराजा जैसवार र अमर यादव पौडिएर बाहिर निस्कन सके भने यादव नदीमा डुबेर बेपत्ता भएका थिए।